दफा ५१
बेचबिखनको परिणाम
(१) बेचबिखनबाट प्राप्त लाभको सम्बन्धमा देहायबमोजिमको प्राथमिकताक्रम अनुसार भुक्तानी हुनेछः–
(क) धितो लिने व्यक्तिले कानून व्यवसायीलाई तिरेको मनासिब माफिकको शुल्क र मुद्दामामिला गर्दा लागेको कानूनी खर्च लगायत धितोको सम्पत्ति पुन प्राप्त गर्दा, ग्रहण गर्दा, बेचबिखनको तयारी तथा बेचबिखन गर्दा लागेको मनासिब माफिकको खर्च,
(ख) धितोको हकबाट सुरक्षित ऋण,
(ग) बेचबिखनबाट प्राप्त लाभको बाँडफाँड गर्नुभन्दा अगावै लिखित अनुरोध प्राप्त भई अधीनस्थ धितोको हक लिने व्यक्तिले त्यस्तो हकको मनासिब प्रमाण दिएमा धितोको सम्पत्तिउपर रहेको अधीनस्थ धितोको हकबाट सुरक्षित ऋण ।
(२) धितो लिने व्यक्तिले धितोको सम्पत्तिको बिक्रीबाट प्राप्त भई बचत हुन आएको रकम धितो दिने व्यक्तिलाई फिर्ता दिनेछ र अन्यथा सहमति भएकोमा बाहेक नपुग रकमको हकमा धितो दिने व्यक्ति जिम्मेवार हुनेछ ।
(३) दायित्वको परिपालन नभई धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्दा देहायबमोजिम गर्नु पर्नेछः–
(क) धितोको सम्पत्ति बेचबिखन हुँदा सो बेचबिखनमा असल नियतले मूल्य तिरी प्राप्त गर्ने प्राप्तकर्ताले त्यस्तो धितोको सम्पत्तिमा रहेको सबै अधिकार, धितोको हक वा अधीनस्थ धितोको हक वा विशेषाधिकारबिना नै सो धितोको सम्पत्ति प्राप्त गर्ने, र
(ख) धितोको सम्पत्तिको स्वामित्वको अभिलेख राख्ने कार्यालयले मूल्य दिई किन्ने सो सम्पत्तिको प्राप्तकर्तालाई नयाँ स्वामित्वको प्रमाणपूर्जा प्रदान गर्दा सो कार्यालयले अनुरोध गरेमा धितो लिने व्यक्तिले कब्जा गर्न पाउने गरी अदालतले दिएको आदेशको ढाँचामा नयाँ स्वामित्वको प्रमाणपूर्जा जारी गर्ने अख्तियारी वा दायित्व पालना नभएमा धितो लिने व्यक्तिलाई कब्जा हस्तान्तरण गर्ने गरी धितो दिने व्यक्तिले गरेको लिखित सम्झौता सो कार्यालय समक्ष पेश गर्ने ।